
काठमाडौः प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिना अघि सम्पन्न आफ्नो चीन भ्रमणबाट मुलुककै हैसियत नयाँ उचाईमा पुगेको बताएका छन् ।
नेपाल—चीनबीच कुटनीतिक संबन्ध स्थापनाको ६० बर्ष पुगेको अवसरमा प्रकाशित ‘गतिशील साझेदारीका ६० बर्ष' शीर्षकको पुस्तक शुक्रबार लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले त्यस्तौ बताएका हुन् ।
‘मेरो चीन भ्रमणबाट दुई देशबीचको संबन्ध त नयाँ उचाईमा पुगेको छ नै । साथै मुलुकको हैसियत समेत नयाँ उचाईमा पुगेको छ,' नेपाल—चीन समाजद्वारा वालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीको गत चैत ७ देखि साताब्यापी औपचारिक चीन भ्रमणमा सम्पन्न भएको थियो । भ्रमणका बेला ऐतिहासिक पारवहन सम्झौता लगायत १० बुँदे सम्झौतापत्रमा हस्ताक्षर हुनुका साथै नेपाल—चीन १५ बुँदे संयुक्त वक्तव्य पनि जारी भएको थियो ।
नेपाल र चीनबीच पुरानो निकट छिमेकीको संबन्ध रहेको र आगामी दिनमा संबन्ध अझै प्रगाढ हुँदे जाने विश्वास ओलीको थियो । ‘नेपाल र चीन दुई छिमेकी मित्रबीच कुनै समस्या छैन । हाम्रा मित्रताहरु पारस्परिक लाभका आधारमा भन्दा पनि पारस्परिक सम्मानका आधारमा अघि बढेका छन् भन्दा फरक पर्दैन' ओलीले भने ।
नेपालप्रति चीनले सदैव अत्यन्तै सहयोगी र सम्मान देखाउँदै आएको उनले बताए । सम्मानको हिसाबमा बराबरीको संबन्ध र सहयोगका हिसाबमा चीनले नेपालप्रति सकारात्मक दृष्टिकोण राख्दै आएको ओलीले बताए ।
संबिधान जारी भएपछि नेपाल दु्रत विकासका आफ्ना प्रयासहरु केन्द्रित गरिरहेका कारण छिमेकी मुलुकहरुसंगको संबन्धको यतिबेला खास महत्व रहेको उनले बताए ।
‘त्यसमा पनि नेपाल र चीनबीचको संबन्धको खास महत्व छ यतिबेला । किनकि अब नेपालजस्तो भूपरिबेष्ठित मुलुकले दुनियाँसम्म संबन्ध बढाउन पारवहन र यातायात चीनको बाटो प्रयोग गर्दैछ । यो नयाँ अध्ययाको शुरुवात गरेका छौँ जसले नेपाललाई दुनियाँसम्म संबन्ध बढाउन मद्दत मिल्नेछ' उनले भने ।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईले प्रधानमन्त्री ओलीको चीन भ्रमणबाट नेपाल र चीनबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताए । ‘प्रधानमन्त्री ओलीजीको ऐतिहासिक र सफल चीन भ्रमणबाट हाम्रो संबन्ध नयाँ युगमा प्रवेश गरिसकेको छ । भ्रमणले क्षेत्रीय शान्ति र स्थिरतमा पनि महत्वपूर्ण सहयोग पुर्याएको छ' उनले भने ।
चिनियाँ नेतृत्वले छिमेकी मुलुकहरुसंगको संबन्धलाई शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्दान्तका आधारमा अघि बढाइरहेको उनले बताए ।
चिनियाँ नेतृत्वले अघि बढाएका ‘वान बेल्ट वान रोड अवधारणा', एसियाली पूर्वाधार लागानी बैंक स्थापना र स्वतन्त्र ब्यापार सम्झौतामा हस्ताक्षर लगायतका नयाँ रणनीतिमा सहकार्य गरेबाट नेपाल जस्ता छिमेकी मुलुकहरुले लाभ लिने उनले बताए ।‘विश्वको दो श्रो ठूलो अर्थतन्त्रको नाताले हामी हाम्रा छिमेकीहरुको विकास प्रक्रियामा सहयोग पुयाउन चाहन्छौँ' उनले भने ।
उनले चीनले छिमेकीको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप नगरेको तथा पारस्पारिक हित र लाभका आधारमा संबन्ध अघि बढाएको बताए । नेपालले विगतमा चीनको आर्थिक तथा राजनीतिक सुधारको प्रक्रियादेखि कठिन समयमा चीनलाई सहयोग गरेकाले अहिले त्यसको गुण तिर्न चाहेको बताए । ‘नेपालले विगतमा चीनलाई गरेको सहयोगको गुण हामी तिर्न चाहन्छौँ' उनले भने ।
कार्यक्रममा नेपाल—चीन समाजकी अध्यक्ष प्रेम कुमारी पन्तले नेपाल चीन बीचको ६० बर्षको संबन्ध जान्न चाहनेका लागि पुस्तक उपयोगी रहेको बताइन् ।
पुस्तकका लेखक एवं पूर्वराजदूत हिरन्यलाल श्रेष्ठले नेपाल र चीनबीचको सम्पर्क र संबन्ध अझै बढाउन आवश्यक रहेको भन्दै चिनियाँ राष्ट्रपति सि जिनपिङ्को नेपाल भ्रमण चाँडै हुने अपेक्षा गरे ।
परराष्ट्र मामिलाकी जानकार अञ्जान शाक्यले पुस्तकमाथि टिप्पणि गरिन् । सन् १९५५ मा स्थापित नेपाल चीन कुटनीतिक संबन्धको ६० औँ बर्षगाँठका गत बर्ष परेको थियो ।
Source:www.annapurnapost.com
Post a Comment