मर्सिल्ले: युरोकप फुटबलमा लगातार तेस्रोपटक उपाधि जित्दै इतिहास रच्ने योजनामा रहेको स्पेनले समूहगत चरणको आफ्नो दोस्रो खेलमा शनिबार बिहान टर्कीको सामना गर्दैछ।
टर्कीलाई हराउन सके स्पेन नकआउट चरण अर्थात् अन्तिम १६ मा पुग्नेछ। समूह'डी'अन्तर्गत शुक्रबार राति हुने खेलमा क्रोएसियाले चेक गणतन्त्रलाई हराएमा र आफू पनि विजयी भएमा स्पेनसँगै क्रोएसिया पनि नकआउट चरणमा पुग्नेछ। आफ्नो पहिलो खेलमा स्पेनले चेक गणतन्त्रलाई १-० र क्रोएसियाले टर्कीलाई १-० गोलले हराएका थिए।
साविक विजेताका रूपमा गत विश्वकपमा सहभागी भए पनि पहिलो चरणबाटै बाहिरिएपछि स्पेनले निकै आलोचना बेहोर्नु परेको थियो। स्पेनलाई पुरानो साख फर्काउन यो प्रतियोगिता निकै महत्वपुर्ण मानिएको छ। साथमा युरोकपमा हालसम्म कुनै पनि टोलीले लगातार तीनपटक उपाधि जित्न सकेका छैनन्। तर स्पेन र जर्मनीले तीनतीन पटक युरोकप भने जितेका छन्।
स्पेन र टर्कीबीच हालसम्म ११ पटक भिडन्त भएकोमा स्पेन पाँचपटक र टर्की दुईपटक विजयी भएका छन्। चार खेलको नतिजा बराबरीमा सकिएको थियो। टर्कीले पछिल्ला तीन खेलमा स्पेनलाई हराउन सकेको छैन। टर्कीले अन्तिम पटक सन् १९६७ मा स्पेनलाई १-० गोलले हराएको थियो। यी दुई टोलीबीच अन्तिमपटक सन् २००९ मा भिडन्त भएको थियो, जसमा स्पेन २-१ गोलले विजयी भएको थियो।
Source:www.annapurnapost.com

Post a Comment