नेपाल धितोपत्र बोर्डले सावधानी अपनाएर शेयरमा लगानी गर्न लगानीकर्तालाई सतर्क बनाएको छ । शेयर बजारमा लगानी बढ्दै जाँदा जोखिम पनि सँगसँगै बढ्ने हुँदा बजारको अवस्था बुझेरमात्र लगानी गर्न बोर्डले सतर्क बनाएको हो ।


‘देशको आर्थिक बृद्धि १ प्रतिशत भन्दा तल रहेको छ, तर पुँजी बजारको सूचकांक नेप्से इन्डेक्स निरन्तर बढ्दै उच्च विन्दुमा आइसकेको छ’ बोर्डद्धारा जारी विज्ञप्तीमा भनिएको छ- ‘यसरी अर्थतन्त्र सामान्य अवस्थामा रहेको बेलामा नेप्से इन्डेक्स मात्र बढ्दै जाँदा बजारको जोखिम पनि बढ्दै गइरहेको छ ।’
बजारमा बढ्दै गएको जोखिम समेतलाई दृष्टिगत गरी शेयरमा लगानी गर्ने विवेकपूर्ण निर्णय लिन बोर्डले लगानीकर्तालाई अनुरोध गरेको छ ।
धितोपत्रको दोस्रो बजार सूचाकांक तथा कारोवार रकममा भैइरहेको बृद्धिले लगानीकर्ताहरु दोस्रो बजारमा आकषिर्त भएका छन् । ‘पूँजी बजारमा सहभागी भई लगानी गर्नु लगानीकर्ताको हक हो, लगानीकर्तालाई बजार, सूचिकृत संगठित संस्थाहरु एवं अर्थतन्त्रको यथार्थ स्थिती अवगत गराई उनीहरुको हकहितको संरक्षण गर्ने जिम्मेवारी बोर्डको हो’ विज्ञप्तीमा भनिएको छ ।
शेयरमा गरिने लगानी जोखिम रहित नहुने हुँदा समग्रमा देशको अर्थतन्त्र, सूचीकृत संगठित संस्थाहरुको कार्य सम्पादन, वित्तीय स्थिति लगानीकर्ता स्वयंको जोखिम वहन गर्ने क्षमता आदिलाई हेरेर शेयरमा लगानी गर्न उपयुक्त हुने बोर्डको ठम्याई छ ।
Source:www.onlinekhabar.com
Post a Comment