0


कृषि पेसामा लागेकाहरूको लगानी जोखिममा परिरहेको बेला पूर्वी चितवनका किसान भने व्यावसायिक केराखेतीबाट रामै्र आम्दानी लिन सफल भएका छन् । हाल यहाँ केरा किसानको संख्या बढेर ६ सय पुगेको छ । चितवन केराको राजधानीको रूपमा परिचित छ । हावाहुरीबाट पुगेको क्षतिबाहेक किसानले व्यवसायबाट निकै राम्रो प्रतिफल पाएका छन् ।
यहाँको रत्ननगर नगरपालिका, पदमपुर, जयमंगला, पिठुवा, जुटपानी लगायतका किसानहरूले व्यावसायिक रूपमा गरेको केराखेतीबाट मुलुककै ५० प्रतिशत बजार धानेका छन ।
व्यावसायिक रूपमा खेती सुरु गर्नुअघि विभिन्न चुनौती खेप्न बाध्य स्थानीय किसान उत्पादन र बजार राम्रो पाउन थालेपछि उत्साहित बनेका हुन् ।
चितवन केरा उत्पादन संघका अध्यक्ष विष्णुहरि पन्तले केरा किसानको संख्या बर्सेनि बढ्दै गएको बताए । ‘अघिल्लो वर्ष ५ सय २५ रहेकोमा यो वर्ष ६ सय पुगेको छ,’ उनले भने, ‘यो खेतीमा किसानको आकर्षण बढ्दो छ ।’
‘हावाहुरीले केरामा नोक्सानी पुर्‍याए पनि व्यवसायबाट किसान विचलित भएका छैनन्,’ पन्तले भने, ‘क्षतिबाट केही राहत पाउन सबैलाई बिमा गर्न भनेका छौं ।’
‘भारतबाट आयात भएर आउने केरालाई बन्द गर्न सके मुलुकमै उत्पादन भएको केराले पूरै बजार धान्न सकिने थियो,’ रत्नगरका केरा किशान मेघनाथ भट्टले भने, ‘आफ्नै देशमा उत्पादन भएको केरालाई बजार फराकिलो बनाउनुपर्छ ।’
केराबाट राम्रो आम्दानी लिन थालेपछि कृषि पेसामा लागेका किसानहरू यतिखेर आकर्षित हुन थालेका छन् । केरा बिक्रीबाट किसानले वार्षिक ३५ देखि ४० लाखसम्म आम्दानी गर्दै आएका छन् ।
पूर्वी चितवनमा सरकारी नीतिअनुसार उद्योग वाणिज्य संघ, कृषि विकास कार्यालयको सहयोगमा अहिले ‘एक गाउँ, एक उत्पादन’ मार्फत ०५९ सालदेखि केरा खेती सुरु गरेका हुन् ।
व्यावसायिक रूपमै लगाउन थालेको ०६२ बाट हो । यहाँ ‘एक घर एक केरा’ को अवधारणा अपनाइएको छ । केरा, तरकारी र माछापोखरीले चर्चामा रहेको चितवनका स्थानीय पछिल्लो समय केरा खेतीमा आकर्षित हुन थालेका छन् ।
रत्ननगर नगरपालिका क्षेत्रमा केरा खेती गर्ने किसानको संख्या बढी छ । हावाहुरीले क्षति पुर्‍याएन भने केरा बिक्रीबाट एक सिजनमा जिल्लामा २५ देखि ३० करोडसम्म भित्रिने अध्यक्ष पन्तले बताए ।
चितवमा एक सिजनमा ४० देखि ५० हजार मेट्रिकटनसम्म केरा उत्पादन हुने गरको छ । ‘राम्रोसँग केरा खेती गर्दा सोचेभन्दा बढी नै आम्दानी गर्न सकिन्छ,’ उनले भने, ‘यो व्यवसायमा लागेर हरेस खानुपर्ने अवस्था छैन ।’
बर्सेनि हावाहुरी र असिना–पानीबाट करोडौंको क्षति बेहोर्नुपर्ने समस्याले भने उनीहरू पीडित छन् । यसप्रति राज्यले ध्यान दिएर उचित क्षतिपूर्तिको व्यवस्था गर्न सके खेती गर्ने किसान अझै बढ्ने थियो । पन्तले भने, ‘राज्यले केरा खेतीको बिमा गर्ने व्यवस्था मिलाउनुपर्छ ।’
हावाहुरीबाट क्षति बढेकाले यहाँका किसानले प्रोडेन्सल नेपाल, नेपाल इन्स्योरेन्स र शिखर इन्स्योरेन्स कम्पनीमा बिमा गराएका छन् । केरा रोप्न वैशाख र जेठ महिना उपयुक्त हुन्छ ।
‘केराबाट राम्रो आम्दानी गर्न सकिने भएकाले यो व्यवसायप्रति किसानको आकर्षण बढ्दो छ,’ जिल्ला कृषि विकास कार्यालयका बागबानी विकास अधिकृत धनबहादुर थापाले भने, ‘चितवनमा फलफूलमध्येमा केरा खेती पहिलो स्थानमा पर्छ ।’
यहाँका किसानले झापाली मालभोग र विलियम हाइब्रिट जातको केरा लगाउँदै आएका छन् । उत्पादित केरा काठमाडौं, बुटवल, पोखरा र नारायणगढ बजारमा खपत हुन्छ ।
‘जग्गा भाडामा लिएर केराखेती गर्दा हावाहुरीबाट किसानले बढी क्षति बेहोर्नुपर्ने समस्या छ ।’ केरा खेतीमा किसानको उत्साह बढाउन कृषि कार्यालयले बेलाबेलामा कृषि भ्रमणमा लैजाने गरेको छ । यसले अन्यत्र लगाइएको केराखेतीका अनुभव लिन सकिन्छ ।
केरामा बोट मर्ने, गोवा कुहिने र गबरा रोग लाग्ने मुख्य समस्या रहेको किसानको भनाइ छ । । केराको थामबाट नेपाली कागज बनाउन सकिन्छ । कोसाबाट म:म, अचार, चिप्स बनाएर बिक्री गर्न सकिन्छ ।
केरा लगाउन अन्य बाली मास्नु पर्दैन । खाली जग्गामा केरा खेती गर्न सकिन्छ । केरा खाद्यान्नको रूपमा विकास हुँदै गएकाले यसको बजार ठूलो रहेको व्यवसायीहरू बताउँछन् ।
यहाँ झन्डै १० हेक्टरका दरले प्रत्येक वर्ष केराको खेती विस्तार भईरहेको छ । चितवनमा अहिले व्यावसायिक रूपमा १६ सय हेक्टरभन्दा बढी क्षेत्रफलमा केराखेती हुन्छ । अघिल्लो वर्षको तुलनामा यो बढ्दो छ ।

वाइन बनाउन  अध्ययन
पछिल्लो समय केराको बहु परिकार बन्ने क्रमसँगै यसबाट वाइन बनाउन सकिने यहाँ सम्भाव्यताको खोजी सुरु भएको छ । कैलालीमा केराबाट वाइन बनाएपछि यसबाट ख्याति कमाउन सफल चितवनमा पनि यसको सम्भाव्यता अध्ययन गर्न लागिएको हो । व्यावसायिक रूपमा अहिलेसम्म केराबाट वाइन बनाइएको छैन । तर केराको वाइनको माग अत्यधिक छ ।
जिल्ला केरा व्यवसायी समिति र एक गाउँ, एक उत्पादन कार्यान्वयन समितिले संयुक्त रूपमा सम्भाव्यता अध्ययन सुरु गरेको छ । ‘केराको वाइनको माग अत्यधिक छ,’ पन्तले भने, ‘त्यसैले सम्भाव्यता अध्ययन गरी वाइन बनाउने तयारीमा छौं ।’
केराबाट वाइन बनाउने खबरले व्यवसायी हर्षित छन् । एक गाउँ एक उत्पादन अभियान कार्यक्रमअन्तगत वाइन बनाउने काम अघि बढाइएको छ । अहिले वाइन उत्पादन गर्ने कम्पनीसँग उत्पादनका बारेमा परामर्श लिने काम जारी छ पन्तले भने ।
Source:www.ekantipur.com


Post a Comment

 
Top