0
-सांसद शाहले व्यक्तिगत ५० लाख लगानी गर्ने, -उनी भन्छन् ‘अमेरिका बसेर अमेरिकाकै राजनीति गर्नुस्’




जाजरकोटका सांसद राजीवविक्रम शाहले अमेरिकावासी नेपालीहरुलाई जाजरकोटको एक अस्पताल निमार्णमा सहयोग गरिदिन अनुरोध गरेका छन् ।
राष्ट्रसंघीय एड्स सम्बन्धी संसारभरका विधायकहरुको सम्मेलनमा भाग लिन न्यूयोर्कमा रहेका शाहले कांग्रेसको प्रवास संगठन जनसम्पर्क समिति अमेरिकाद्वारा आयोजित एक अन्तर्क्रियामा सो अनुरोध गरेका हुन । सांसद शाहले जाजरकोटमा बर्षेनी झाडापखाला लगायतका विभिन्न रोग प्रकोपले धेरैको अकालमा मृत्यु हुने बताउँदै नेपाली डायस्पोरालाई मानवीय कार्यमा सहयोग गर्न आग्रह गरे । उनले भने, ‘ एक सांसदको हैसियतमा पश्चिम जाजरकोटमा ५० बेडको अस्पताल बनाउने योजना छ । मैले व्यक्तिगतरुपमा ५० लाख लगानी गर्दैछु । अमेरिकाबाट ५० लाख सहयोग गरिदिनुस् । त्यो तपाईंहरुको ठूलो गुण हुनेछ ।’ उनले अमेरिका लगायतका अन्य विकसित मुलुकहरुमा अस्पताल निर्माणबारे आर्थिक सहयोगका लागि कार्यक्रम गरिने जानकारी दिए ।
कार्यक्रममा शाहले अमेरिकामा रहेका नेपाली कांग्रेसका सर्मथकहरुलाई यहाँ बसेर नेपालको राजनीतिको साटो अमेरिकाकै राजनीतिमा सक्रिय हुन सुझाव दिएका थिए । उनले भने ‘आर्थिक, सामाजिक एवम मानवीय सहयोग मार्फत जन्मेको देशप्रति माया दर्शाउन सकिन्छ । तर राजनीतिको सवालमा त्यति सम्भव छैन् । यहिँ गर्नुस्, राजनीति ।’
भिन्न पृष्ठभूमिबाट राजनीतिमा होमिएका शाहले आफू ठूलो आशाले राजनीतिले होमिए पनि शक्ति केन्द्रित राजनीतिले आफू चिन्तित भएको बताए । उनले मुलुकमा स्पष्ट वैदेशिक एवं अर्थनीति नभएको बताए ।

कार्यक्रममा अर्का अथिति पूर्व सभासद महेन्द्र जिसीले कांग्रेसको आन्तरिक सर्घषले मुलुकलाई क्षति भएको बताए । उनले कांग्रेसले धेरै पटक सरकारमा अवसर पाए पनि पार्टीको आन्तरिक खिचातानीले जनताको चाहनालाई उचित सम्बोधन गर्न नसकेको बताए । कार्यक्रममा कांग्रेस नेता त्रैलोक्य सेन, जनसम्पर्क अध्यक्ष आनन्द विष्ट, पूर्वअध्यक्ष बिष्णु सुवेदी एव‌ं कानुनविद् खगेन्द्र जीसीले आआफ्नो धारणा राखेका थिए । 


Source:www.kantipur.ekantipur.com



Post a Comment

 
Top