
धेरैजनाको प्रेम जेल परेकै कारण छुट्छ, सम्बन्ध बिग्रन्छ तर ओखलढुंगामा भने जेलमै एकजोडीले प्रेम मात्र गरेन विवाह नै गरेर जिन्दगीको नयाँ यात्रा सुरुवात गरेको छ ।
ओखलढुंगा कारागार भित्र ६ वर्षदेखि प्रेममा रहेको बताउने ओखलढुंगा, ठूलोछापका प्रकाश कटवाल तथा कटुञ्जेकी धनुका कार्कीले आफ्नो प्रेमलाई विवाहमा परिणत गरे । प्रकाश २०६४ सालदेखि कारागारमा छन् भने धनुका गणतन्त्र दिवसका दिन जेलबाट छुटेकी थिइन् । उनी ०६३ सालदेखि कर्तव्य ज्यान मुद्दामा अभियोग प्रमाणित भएपछि जेलमा थिइन् । गणतन्त्र दिवसका अवसरमा उनको ४० प्रतिशत सजाय मिनाहा भएको थियो । उता जर्बजस्ती करणीको मुद्दामा जेल परेका प्रकाश कट्वालले भने अझै दुई वर्ष जेलमै बिताउनु पर्नेछ ।
विवाह सम्पन्न भएपछि कटवालकै घर गरी खाने बताउँदै धनुकाले भनिन्– हामीले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका हौं, त्यसैले म प्रकाशकै घर गएर बस्छु । म प्रकाशलाई दुई वर्ष पर्खन सक्छु ।’
केटाकेटीले मन पराएर विवाह गर्ने प्रस्ताव राखेपछि माथिल्लो निकायमा कुरा मिलाएर विवाहको व्यवस्था गरिदिएको जेलर जानुका न्यौपानेले बताइन् । विवाहको समयमा पुरुष कैदीबन्दी बस्ने स्थानबाट बेहुला कटवाललाई ढाकाटोपीमा सजाएर निकालिएको थियो । आधा घण्टाको विवाह कार्यक्रम पश्चात् बेहुलालाई कारागार भित्र पठाउँदाको दृश्य निकै कारुणिक थियो । उक्त विवाहमा दुवैका अभिभावकहरू सहित निमित्त प्रमुख जिल्ला अधिकारी त्रिलोचन रिमाल, प्रहरी नायव उपरिक्षक दिपेन्द्र शाहदेखि लिएर जिल्लाका पत्रकार एवं अन्य सरोकारवालाहरू उपस्थित थिए ।
Post a Comment